स्पेनिस ला लिगामा रियल मड्रिडले सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । सान्टी मिनाले खेल सकिनु पाँच मिनेटअघि गोल गरेपछि एक गोलको अग्रता लिएको रियल मड्रिड अंक बाँड्न बाध्य भएको हो ।
बराबरीपछि ला लिगा अंक तालिकामा रियल मड्रिडले जम्मा एक अंकको अग्रता लिएको छ । २४ खेलबाट रियलले ५३ अंक बनाएको छ भने दोस्रो स्थानको बार्सिलोनाको ५२ अंक छ । सेल्टा भने २१ अंकसहित १७औं स्थानमा छ ।
मड्रिडस्थित सान्टियागो बर्नाबाउमा भएको खेलको सातौं मिनेटमा फेडोर स्मोलोभले गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए । त्यसपछि टोनी क्रुजले १६ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा ५२औं मिनेटमा रियलले खेल बराबरीमा पुर्यायो ।
६५औं मिनेटमा रियलले पेनाल्टी पायो । त्यो पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै मिनाले गोल गर्दै खेल बराबरीमा पुर्याए ।