images
images

सर्वोच्चले निजगढ विमानस्थलको मुद्दा वृहत पूर्ण इजलासमा पठायो

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दा वृहत पूर्ण इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार उक्त मुद्दा वृहत पूर्ण इजलास पठाउने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । उक्त मुद्दा अव माघ ७ गते पाँच जनाभन्दा धेरै न्यायाधीशले हेर्नेछन् ।

गत मंसिर २० गते सर्वोच्चले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको थियो । पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले काम अघि नबढाउन आदेश दिएको थियो ।

यस्तै पुस ६ गते सर्वोच्चले निजगढ विमानस्थलको काम तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा रुख काट्न नहुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले पनि सर्वोच्चमा रिट दर्ता गरेका थिए । आजको इजलासले यी दुबै मुद्दा पूर्ण इजलासमा पठाउने  निर्णय गरेको हो ।