images
images

काठमाडौंको जाम हटाउन ट्राफिक प्रहरीले बनायो समिति

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंमा ट्राफिक जामको समस्या दीर्घकालीन रुपमा कम गर्न पहल शुरु गरेको छ । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुदृढ तुल्याउने सन्दर्भमा स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरी आवश्यक सुझाव पेश गर्न समिति गठन गरेको छ ।

महाशाखाका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक जीवन श्रेष्ठको संयोजकत्वमा प्रहरी निरीक्षक दामोदर सिलवाल र अवकाश प्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथु सहितको समिति बनेको हो । समितिले उपत्यकाका प्रमुख स्थानमा सवारी जाम हुनुको कारण पहिचान गर्नुका साथै सवारी आवागमन सहज तुल्याउन तत्काल गर्नुपर्ने सुधारका बारेमा सुझाव पेश गर्ने जनाइएको छ ।

उपत्यकाको सवारी जामलाई घटाउने उद्देश्यले जनचेतनामुलक कार्यक्रम, ट्राफिक लाइट लगायत सुधारका विभिन्न प्रयास भए पनि सार्थक नतिजा आउन नसकेका कारण विस्तृत अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरिएको महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

समितिले चाबहिल, महाराजगञ्ज, कोटेश्वर, लैनचौर, कालीमाटी लगायतका क्षेत्र, खासगरी चक्रपथभित्र ‘पिक आवर’मा अत्यधिक जाम हुने स्थानमा सवारी आवागमन सहज तुल्याउन चाल्नुपर्ने कदमका बारेमा स्थलगत अध्ययनसहितको सुझाव पेश गर्ने वरिष्ठ उपरीक्षक ढकालको भनाइ छ ।