काठमाण्डाै – चीनकाे वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरकाे खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो ।
उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्याएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो । आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेका चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन् ।
चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो । उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन् ।
नेपाल आइपुगेका एक सय ७५ जनाको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर केही समस्या नदेखिएका व्यक्तिलाई मात्र भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा लगिएको सरकारले जनाएको छ । अब नेपाल ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा १४ दिन डाक्टरको निगरानीमा राखिनेछ ।
यो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को बाध्यकारी नियम हो । सङ्गठनले चीनबाहिर गएका सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्नैपर्ने नियम बनाएको छ ।यसैबीच सरकारले चीनलाई एक हजार वटा मास्क (मुखावरण) हस्तान्तरण गरेको छ । नेपाली लिन गएको विमानमा सरकारले पठाएको एक हजार मास्क हुबेई च्यारिटी फेडेरेशनलाई हस्तान्तरण गरेको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।