images
images

काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे सङ्ख्या १ हजार ६ सय ६९ पुग्याे

काठमाण्डौ – कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुगेको छ । अहिलेसम्म चीनमा एक हजार ६ सय ६५ जनाको ज्यान गएको छ भने चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको ज्यान गएको छ । त्यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ हजार पुगेको छ ।

नौ हजारभन्दा बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । गएको शनिबार एकैदिन दुई हजार ६ सय ४१ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो भने एक सय ४२ जनाको ज्यान गएको थियो । भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक हजार एक सय २३ जनाले ज्यान गुमाइसकेका छन् ।

हुबेईमा मात्र ५४ हजारभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण पाइएको छ । चीनका यातायात उपमन्त्री लियु शाओमिङ्गका अनुसार चीनमा मानिसहरुको आवागमनमा ६ गुणा कम गरिएको छ । शनिबार कोरोनाका कारण युरोपमा पनि एक जनाको ज्यान गएको छ । फ्रान्समा एक जना चिनियाँ नागरिकको ज्यान गएको हो ।