काठमाडौँ – धनुषा बम विस्फोटका मुख्य योजनाकार मानिएका नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य पक्राउ परेका छन् । प्रहरीले सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका-६ बाट पक्राउ गरेको हो ।
हत्या, ज्यान मार्ने उद्योग, बम विष्फोट, सङ्गठित अपराधलगायतका घटनामा प्रहरीको मोस्टवाण्टेड सूचीमा रहेका साहलाई चन्दा सङ्कलनका लागि सप्तरीको सुरुङ्गा आएको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरस्थित राजेश साहको घरमा मङ्सिर २७ गते राति १२ः१० बजे भएको बम बिष्फोटलगायतको घटनाका मुख्य योजनाकारका रुपमा साह प्रहरीको मोस्टवान्टेड सूचीमा थिए ।
उक्त बम विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिरकुमार दाहाल, घरधनी राजेश साह र निजका छोरा आनन्दकुमार साहको मृत्यु भएको थियो ।


जनता भ्वाइस 







