सुरक्षा निकायको आँखा छल्न तस्करहरू अनेक तिकडम गर्छन् । यस्तै एउटा नयाँ तरिकाबाट अवैध सामान ओसार्दा भारतको नयाँदिल्ली विमानस्थलमा एक तस्कर पक्राउ परेका छन् ।
ती तस्करले बदामको खोस्टाभित्र लुकाएर ४५ लाख भारू बराबरको विदेशी मुद्रा अवैध ओसारपसार गर्न खोज्दा भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ) ले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । सिआइएसएफले आफ्नो आधिकारिक ट्वीटरमा सार्वजनिक गरेको भिडिओअनुसार तस्करले बदामको खोस्टाभित्र विदेशी नोट पट्याएर धागोले बाँधेर राखेका थिए ।
सुरक्षा जाँचका क्रममा खोस्टा छोडाएर हेर्दा भित्र विदेशी मुद्रा फेला परेको थियो । स्तै, पकाएको मासुको चोक्टा र बिस्कुटको प्याकेटभित्र पनि विदेशी मुद्रा फेला परेको सिआइएसएफले जनाएको छ ।
बदाम, मासु र बिस्कुटभित्र लुकाएर राखिएको अवस्थामा पाँच सय आठ वटा नयाँ नोट बरामद गरिएका छन् । यसमा युरोदेखि साउदी रियाल, कतारी रियाल, कुवेती दिनार, ओमानी रियाल लगायत छन् । नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ मा एयर इन्डियाको उडानबाट दुबई जान लागेका २५ वर्षीय मुराद अलीलाई अवैध विदेशी मुद्रासहित पक्राउ गरिएको हो ।
‘हामीले शंका लागेर जाँच गर्दा बदामको खोस्टा, पकाएको मासु र बिस्कुटको प्याकेटभित्र विदेशी मुद्रा फेला परेको हो,’ सिआइएसएफका प्रवक्ता तथा उपमहानिर्देशक हमेन्द्र सिंहले भने । उनका अनुसार, बदामको खोस्टाभित्र विदेशी मुद्रा तस्करी गर्नै शैली पहिलोपटक देखिएको हो। सिआइएसएफले बरामद भएको विदेशी मुद्रा र पक्राउ परेका व्यक्तिलाई भन्सार विभागको जिम्मा लगाएको छ ।