images
images

काेराेना भाइरस : सिङ्गापुरमा बैंक खाली गराइयाे, कर्मचारीहरुलाई छुट्टी दिइयाे

काठमाण्डौ – सिङ्गापुरकाे डीबीएस बैंकका एक जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । कोरोनाको सङ्क्रमण पाइएपछि बैंक खाली गराइएको छ र कर्मचारीहरुलाई बिदा दिइएको छ ।

डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए । ती सबै कर्मचारीलाई बुधबारदेखि छुट्टी दिइएको छ । यो बैंक ‘मरीना बे पाइनेन्सियल सेन्टर’ को ४३औँ तलामा रहेको छ । यसअघि सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन् । चीनपछि कोरोना भाइरसको घटना यो सबैभन्दा धेरै हो ।

साथै कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै चीनमा आउँदो १९ अप्रिलमा हुने भनिएको फर्मुला वान रेस पनि स्थगित गरिएको छ । यो रेस सञ्चालन गर्ने निकाय एफआईएले भनेको छ, ‘कर्मचारी, प्रतियोगी र दर्शकको स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्न यस्तो उपाय अपनाइएको हो । अवस्था सुध्रँदै गएपछि नयाँ तारिख तय गरिनेछ ।’

चीनमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या झण्डै ४४ हजार पुगेको छ । अन्य २० भन्दा बढी देशमा पनि यसको सङ्क्रमण पाइएको छ । यसैबीच चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका सङ्क्रमितकाे सङ्ख्या घट्न थालेका छन् ।