images
images

चर्चा स्मार्ट सिटीको, घरैपिच्छे पोष्टबक्स राख्ने तिलोत्तमाको तयारी !

बुटवल–कुनै बेला एक ठाउँबाट अर्को ठाउँमा सन्देश पुर्याउने माध्यम पत्र आदानप्रदान थियो । दुई दशक अघि सम्म हुलाकी र हुलाक कार्यालय मार्फत पत्र आदान प्रदान हुन्थ्यो । त्यसपछि आफन्तसँगको सम्पर्क गर्न टेलिफोन माध्यमको प्रयोग भयो ।

मोबाइल सेवा हातहातै आएपछि भने हुलाकी युग अस्ताइसकेको छ । तर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने त्यो हुलाकी युगलाई सम्झाउने गरी घर–घरमा पोष्ट बक्सको अवधारणा ल्याएको छ । नगरका सबै घरमा पोष्टबक्स राख्नको लागि ३० लाख रुपैया बजेट पनि विनियोजन गरेको छ । नगरपालिका र घर धनीबीच ६०–४० को साझेदारीमा पोष्टबक्स राखीने नगरकार्यपालिकाको निर्णयमा उल्लेख छ ।

एक महिना अघि बसेको कार्यपालिका बैठकले पोष्ट बक्सको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो । जसअनुसार सुरुमा ६ वटा वडाहरुमा खरीद प्रक्रिया अघि बढाउने नगरपालिकाले निर्णय गरेको छ । स्मार्ट सिटी निर्माणका लागि पोष्ट बक्स राख्न लागिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

‘स्मार्ट सिटी निर्माणका लागि प्रयत्नशील तिलोत्तमा नगरपालिकाले चालू आर्थिक वर्षदेखि नगरक्षेत्रका प्रत्येक घरधुरीमा पोष्टबक्स राख्नको लागि बजेट विनियोजन गरिएको ।’ नगरकार्यपालिकाको निर्णय पुस्तिकामा भनिएको छ ‘साथै यसरी सबै घरमा पोष्ट बक्स सहज रुपमा राख्ने व्यवस्था मिलाउन हाललाई वडा नम्बर १ देखि ६ सम्मका उपभोक्ताहरुबाट छरितो उपभोक्ता समिति गठन गरी उक्त समिति मार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरियो ।’

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले कुन मोडलमा पोष्टबक्स बनाउने भनेर अध्ययन भइरहेको बताए । ‘कसरी गर्ने कुन मोडलमा जाने भनेर अध्ययन गरिरहेका छौं ।’ उनले भने–‘पहिलो चरणमा संघ संस्था, क्लब, विद्यालय, जनप्रतिनिधिबाट सुरु गर्ने कि भन्ने छ ।’ मोडालिटी टुंग्याएपछि छिट्टै प्रक्रियामा जाने प्रवक्ता श्रीले बताए ।

तर आधुनिक युगमा पुरानो जमानाको पोष्टबक्स राख्न लागेको भनेर आलोचना समेत सुरु भएको छ । सूचना प्रविधिका इन्जीनियर अर्जुन गिरीले अहिलेको युगमा घर घरमा सन्देश पुर्याउने कुरा नाजायज भएको बताए । ‘अबको जमानामा पनि पोष्टबक्सको कुरा गरेर हुन्छ । मान्छेले कागज पल्टाएर हेर्न छोडी सके ।’ उनले भने ‘धेरै मान्छे कम्युटर र मोबाइलमा अभ्यस्त भइसकेका छन् । प्रविधिलाई नै नगरपालिकाले बढी भन्दा बढी उपयोग गर्नुपर्छ ।’

पोष्ट बक्समा जाँदा कागज धेरै खर्च हुने थप जनशक्ती चाहिने गिरिको भनाइ छ । ‘नगरपालिकाले सेवा प्रवाह गर्दा नयाँ पुस्तालाई लक्षित गरेर गर्नुपर्छ । डिजिटल युगमा अहिले पोष्ट बक्स प्रभावकारी हुँदैन । ’नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले आम नगरबासीहरुले सूचनाको हक प्राप्ती गरुन भनेर हामीले यसको व्यवस्थापन गर्न लागेको बताए ‘सबै मान्छेको पहुँचमा मोबाइल र कम्युटरको ज्ञान छैन ।’

उनले भने ‘नगर, वडामा यो निर्णय भएछ भनेर स्थानियले जानकारी पाउँछन् । सुचना लिएर जाँदा घर भित्र पस्न सक्ने अवस्था नहुने, घर धनी नभेटीने हुँदा पोष्ट बक्सले सहज हुन्छ ।’ तर सुचना प्रविधीका इन्जिनियर अर्जुन गिरिले भने सन्देश र सुचना प्रवाहमा नगरपालिकाको आफ्नै वेबसाइट, सामाजिक सञ्जाल, एप्सको उपयोग गर्न सुझाब दिए ।

‘महत्वपूर्ण सुचनाहरु सञ्चार माध्यमबाटै थाह हुन्छ । अन्य सुचना र सन्देशहरुको लागि अहिलेकै प्रविधिलाई उपायोग गर्नुपर्छ । प्रविधीमा अभ्यस्त नभएकाले पनि परिवारका सदस्यबाट थाह पाउन सक्छन् ।’