काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक अंग सरकारको छायाँ बन्न नहुने बताएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले तीन दिन सदन अवरूद्ध गरेको थियो ।
मंगलबार सदन सुचारू गर्दै कांग्रेसले अख्तियारजस्ता संवैधानिक आयोग सरकारको छायाँ बन्न नहुने बताएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले लोकतन्त्र कमजोर पार्नेगरी संवैधानिक अंगबाट काम भए कांग्रेस चुप लागेर नबस्ने बताइन् ।
‘लोकतन्त्रलाई कमजोर गराउन कसैले काम कारवाही गर्छ भने प्रमुख प्रतिपक्षी दल चुप लागेर बस्दैन । कुनैपनि संवैधानिक अंगहरुले सरकारको प्रभावमा परेर कुनै पनि गलत काम गर्नु हुँदैन, निर्णय गर्नु हुँदैन,’ उनले भनिन्, ‘संवैधानिक अंग सरकारको छाया बन्नु हुँदैन ।
यदि त्यो भयो भने लोकतान्त्रिक अभ्यास कमजोर हुँदै जान्छ र जनताको अधिकार सुनिश्चित हुँदैन ।’ अख्तियारले गच्छदारविरूद्ध माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।