काठमाडौँ – एक करोड रुपैयाँ आन्दानी हुन्छ भन्दै एक किशोरीलाई चितवन लैजान खोज्ने दुई जना पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ७ काे तल्लो गोहोरेका ७१ वर्षीय भीमप्रसाद ढकाल र ३९ वर्षीय रामबाबु दूतराज (विक) लाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
उनीहरुले त्यही ठाउँमा बस्ने १७ वर्षीया किशोरीलाई ‘एक करोड रुपैयाँ कमाइ हुन्छ’ भन्दै माघ २४ गते शुक्रबार चितवन लैजान खोजेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताउनुभयो ।
‘हामीलाई साढे ५ फिट उचाइ भएको मान्छे चाहिएको हो भन्दै उनीहरुले माघ २३ गते बालिकाको शरीर नापेछन्, हामीले खोजे जस्तो मान्छे तिमी नै हो भनेर भिडियो पनि खिचेका रहेछन्’ खतिवडाले भन्नुभयो, ‘चितवनसम्म जाऔँ, एक करोड रुपैयाँ आउँछ, भाग्य चम्कन्छ, आधा–आधा पैसा बाडौँला भनेर बालिकालाई फकाएका रहेछन् ।’
गएकाे २४ गते चितवन जान घरबाट हिँडेकी किशोरीलाई उनीहरुको क्रियाकलापबारे शङ्का लागेपछि भागेर गएर आमालाई जानकारी गराएको र किशोरीका आफन्तमार्फत प्रहरीमा खबर आएको डीएसपी खतिवडाले जानकारी दिनुभयो । प्रहरीका अनुसार किशोरीले बस चढ्ने बेलासम्म पनि त्याे कुरा घरपरिवारलाई बताएकी थिइनन् ।
गाउँमै सिकर्मीको काम गर्ने ७१ वर्षीय भीमप्रसाद र ३९ वर्षीय रामबाबुलाई किशोरीकी आमाले दिएको जाहेरीका आधारमा माघ २४ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार मुद्दा चलाइएकाे खतिवडाले बताउनुभयो । उनीहरुले किशोरीलाई कहाँ र के उद्देश्यले लैजान खोजेका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।