images
images

असहाय ४६ बालबालिकालाई सहयोग

काठमाडौँ – कुनै घटना एवं दुर्घटनाका कारण बुवाआमा तथा बुवाआमामध्ये कुनै एकजना गुमाएका असहाय बालबालिकाले सहयोग पाएका छन् ।
लमजुङको बेंसीसहर नगरपालिका र मस्र्याङदी गाउँपालिकाभित्रका ४६ जना अनाथ तथा असाहय बालबालिकाले मासिक जनही तीन हजार रुपियाँ बराबरको खाद्यान्न, लत्तकपडा, स्टेशनरीलगायत सहयोग पाएका हुन् ।

बुवाआमाध्ये कुनै एक वा दुवै नभएका तथा आर्थिक अवस्था निकै कमजोर भएका बालबालिकालाई पोखरास्थित नमस्ते किड्स नेपालले सहयोग गरेको हो । संस्थाका अध्यक्ष सगुन गुरुङका अनुसार स्कुल पढ्दै गरेका बालबालिकालाई पठनपाठनमा सहज वातावरण बनाउन असाहय बालबालिकालाई सहयोग गर्दै आएको छ ।

करीब पाँचबर्षदेखि लमजुङमा कार्यरत नमस्ते किड्स नेपालले बालबालिकाको आवश्यकता अनुसार ४६ जना बालबालिकालाई खाद्यान्न, स्टेशनरी, स्कुल पोषाक, न्यानो कपडा, सरसफाई सामग्री लगायत सहयोग गर्दै आएको छ । संस्थाले बेंसीसहरमा शनिबार एक कार्यक्रमको आयोजना गरी बालबालिकाका आफ्नाआफन्तसंग अन्तरक्रिया समेत गरेको छ ।

उक्त कार्यक्रममा प्रत्येक बालबालिकालाई तीन हजार रुपियाँ बराबरको सामग्री सहयोग गरिएको थियो । बालबालिकालाई सगुनका जर्मनस्थित साथी एवं नमस्ते किड्सका संस्थापक एलेक्स हुप्पर्टले सहयोग गर्दै आउनुभएको छ । एकजना बालबालिकाका लागि एकजना जर्मन नागरिक स्पोन्सर बनेर सहयोग गरिरहेका छन् ।

आफूले सहयोग गर्दै आएको बालिका हेर्न आउनुभएका ६६ बर्षीय ग्रेगर इन्डेङ्कलेटले असाहय बालिकाको अभिभावकत्व ग्रहण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभयो । नमस्ते किड्स नेपालले नेपालका ११ वटा जिल्लाका २ सय ७५ बालबालिकालाई सहयोग गर्दै आएको छ ।

यस्तै, यी जिल्लाका ग्रामीण भेगमा अध्ययनरत विकटका बालबालिकालाई समय–समयमा स्कुल पोषाक, न्यानो कपडा, स्टेशनरी लगायत सहयोग गर्दै आएको छ । सहयोग पाएपछि बालबालिका निकै खुसी भएका छन् ।