images
images

पुनर्निर्माणमा प्रयाेग नभएका पुरातात्विक सामग्रीलाई सङ्ग्रहालयमा राखिने

काठमाण्डौ – सरकारले सम्पदाको पुननिर्माणममा प्रयोग नभएका पुरातात्विक सामग्रीलाई सङ्ग्रहालयमा राख्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु सङ्ग्रहालयमा राखिने बताउनुभएको हो ।

पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे हाे ।मन्त्री भट्टराईले ललितपुरको पाटन दरबार क्षेत्रमा सङ्ग्रहालय निर्माण भइसकेको जानकारी दिनुभयो । मानव सभ्यतासँग सम्बन्धित अनुसन्धानकर्ताले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन नगरि अनुसन्धान पूरा नहुने बताएकाले पुननिर्माणममा प्रयोग नभएका पुरातात्विक वस्तुहरु सङ्ग्राहलयमा राख्न लागिएको मन्त्री भट्टराईले भन्नुभयाे ।

उहाँले भूकम्पबाट ३१ जिल्लामा ९ सय २० सम्पदामा क्षति भएकोमा चार  सय वटाको पुननिर्माण सम्पन्न भएको बताउनुभयाे । १ सय ५० वटाको यही आर्थिक वर्षमा सम्पन्न हुने र बाँकीको आउँदाे दुई वर्षभित्रमा निर्माण सम्पन्न गरी विश्व समुदायमा काम सम्पन्न भएको घोषणा गर्ने बताउनुभयो । मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्ने धारणा राख्नुभयाे । उपत्यकाका सात वटै विश्व सम्पदा सूचीमा रहेका स्थलहरुलाई साइकल लेनले जोडिने समेत उहाँले घाेषणा गर्नुभयाे ।

पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रलाई राति समेत भ्रमण र अवलोकन गर्न सकिने गरी ‘भ्याली वाइ नाइट’ को काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले पुरातात्विक क्षेत्रमा रहेका मानव बस्ती हटाइने, व्यापार गर्न नदिने लगायतका कामहरु गर्ने योजना रहेको समेत बताउनुभयो । नेपालका कतिपय सम्पदाको अरु देशले नक्कल गरेर गलत प्रचार गरेको उल्लेख गर्दै नेपालका पुरातात्विक सम्पदाको संरक्षण र प्रचारप्रसारमा सरकारले ध्यान दिएको उहाँकाे भनाइ थियाे ।