काठमाण्डाै – चीनको वुहानमा रहेका आफन्तलाई स्वदेश फर्काउनको लागि पहल गर्न अभिभावकले राष्ट्रिय मानव अधिकार आयोगलाई गुहार्ने भएका छन् । कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको हुवेई प्रान्तबाट अरु देशले आफ्ना नागरिक फर्काए पनि नेपालले ढिलाइ गरेपछि अभिभावक आज राष्ट्रिय मानव अधिकार आयोगमा जाने भएका हुन् ।
अभिभावक विमला श्रेष्ठले वुहानमा आफ्नो छोरा झण्डै एक महिनादेखि एउटा कोठामा कष्टपूर्ण तरिकाले बसिरहेको तर सरकारले आलटाल मात्र गरिरहेकाले मानवअधिकार आयोगसँग गुहार माग्नुपर्ने अवस्था आएको बताउनुभयो । उनीहरुलाई तत्काल उद्धार गरी स्वेदश फर्काउन माग गर्दै अभिभावकले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएपछि सरकारले केही समयभित्र उनीहरुको उद्धार गर्ने बताइरहे पनि अहिलेसम्म केही प्रगती नभएकाले थप दबाब दिनुपरेको उहाँले बताउनुभयो ।सरकारले आफ्ना छोराछोरीको तत्काल उद्धार नगरे अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न बाध्य हुने अभिभावकले चेतावनी दिएका छन् ।
यसैबीच सरकारले, हुवेईमा रहेका नेपालीलाई स्वदेश ल्याउने कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । नेपाल फर्कन आवेदन दिएका १ सय ८० जनालाई फर्काउन अन्तिम चरणको काम भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । परराष्ट्र मन्त्रालयले पनि उनीहरुलाई फर्काउन सबै तयारी पूरा भएकाले स्वास्थ्य मन्त्रालयले अनुमति दिनेबित्तिकै विमान चार्टर गरिने जनाएको छ ।
‘संक्रमितलाई ल्याउने होइन, नआत्तिऔँ’
प्रवक्ता श्रेष्ठले चीनबाट फर्काइने नेपालीहरु कोरोना संक्रमित व्यक्ति नभएकाले नआत्तिन पनि आग्रह आग्रह गर्नुभयो । नेपाल ल्याउनुअघि उनीहरुको स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिए उतैको अस्पताल पठाइने र संक्रमण नदेखिएका व्यक्ति मात्रै नेपाल ल्याइने भएकाले आत्तिन नपर्ने उहाँको भनाइ छ ।
उनीहरुलाई वुहानमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर मात्रै ल्याउन पाइने र संक्रमित पाइए उनीहरुको उपचार चीनकै अस्पतालमा हुने तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेरि स्वास्थ्य परीक्षण गरि संक्रमणको शंका लागे विमानस्थलबाटै तोकिएको अस्पतालमा लगिने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
नेपाल ल्याइएपछि उनीहरुलाई विश्व स्वास्थ्य संगठनको बाध्यकारी नियम अनुसार १४ दिन क्वारेन्टाइनमा राखिने प्रवक्ता श्रेष्ठको भनाई छ । क्वारेन्टाइनमा पनि नियमित स्वास्थ्य परीक्षण गरिने भएकाले उनीहरुबाट संक्रमण हुने वा फैलने जोखिम नरहने भएकाले नडराउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले आग्रह गर्नुभयो ।


जनता भ्वाइस 







