काठमाडौँ – थुनामा रहेको व्यक्ति छुटाइदिने भन्दै ४२ लाख घुस लिएको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ । अधिवक्ता टंक रानामगरलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार बबरमहलबाट पक्राउ गरेको हो।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार रानाको माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म छ । राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले उक्त बराबरको घुस लिएको पत्ता लागेपछि पक्राउ गरिएको थापाले बताए । दाहालसँग अदालतले दुई करोड पच्चीस लाख रूपैयाँ धरौटी मागेको थियो ।
धरौटी तिर्न नसकेर उनी अहिले नख्खु कारागारमा छन् । दाहाललाई २०७५ मंसिर २७ गते केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । रानामगरले २०७४ साल साउन २४ गते पीडितबाट ४२ लाख पैसा लिएको अनुसन्धानमा खुलेको छ ।