काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार दुई खेल हुँदैछ । पहिलाे खेलमा थ्री स्टार क्लब र सङ्कटा क्लब प्रतिस्पर्धा गर्दैछन् । दाेस्राे खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्दैछन् ।
सातदोबाटोमा हुने थ्री स्टार र सङ्कटाबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । उपाधि होडबाट बाहिरिसकेको थ्री स्टारको अबको लक्ष्य भनेको शीर्ष ६ मा रहनु हो । अहिले १७ अङ्कसहित चौथो स्थानमा रहेको थ्री स्टार तेस्रो स्थानसम्म पुग्न सक्नेछ । याे खेलमा जित हात पारेको खण्डमा थ्री स्टार तेस्रो स्थानमा उक्लिनेछ ।
गएकाे वर्षको उपविजेता सङ्कटा भने सातौँ स्थानमा छ । सङ्कटालाई शीर्ष ६ मा रहनका लागि थ्री स्टारविरुद्धको जित आवश्यक छ । उसले यसअघिको संस्करणमा थ्री स्टारलाई दुई–शून्यले हराएको थियो । शुक्रबार नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्दैछन् । नेपाल पुलिस क्लब १४ अङ्कसहित आठौँ स्थानमा छ । ब्रिगेड ब्वाइजलाई हराएमा पुलिसको ‘सुपर सिक्स’ भित्र रहेर लिग समाप्त गर्ने सम्भावना बढ्नेछ ।
ब्रिगेड ब्वाइजको भने रेलिगेशनको खतरा अझै टरेको छैन । अहिले ब्रिगेड आठ अङ्कसहित ११औँ स्थानमा छ । पुलिससँग अङ्क खोस्न नसकेमा ब्रिगेड ब्वाइजको रेलिगेशनको सम्भावना बढ्नेछ । अहिले एपीएफ र सरस्वती रेलिगेशन जोनमा भए पनि ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबलाई पनि रेलिगेशनको दबाब छ ।