काठमाण्डाै – सांसदहरुले ललिता निवासको जग्गा प्रकरणमा कोही दोषी उम्कन नहुने र निर्दाेष फस्न नहुनेमा जोड दिएका छन् । बिहीबारकाे प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै सांसदहरुले ललिता निवासकाे विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताउँदै निर्दाेष व्यक्ति फस्न नहुनेमा जोड दिनुभयो ।
डा. भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन प्रक्रिया गलत रहेको बताउँदै ऐन कानुन परिणाममुखी नभइ प्रक्रियामुखी रहेको धारणा व्यक्त गर्नुभयाे । प्रक्रियागत त्रुटिका कारण गल्ती नगरेको मानिस फस्ने र गल्ती गरेको मानिस उम्कने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले अख्तियारले मुद्दा दायर गर्नु स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो ।
‘नियतवश भ्रष्टाचार गरेको छ, जालझेल गरेर नीति–निर्माणमा असर गरी प्रत्यक्ष लाभ लिएको मान्छे उम्केको र परिबन्धवश परेका मान्छे कारबाहीमा परेको देखिन्छ, यसले न्याय गर्दैन गम्भीरतापूर्वक हेर्नुपर्छ’, डा भट्टराईले थप्नुभयो । उहाँले आफ्नै मन्त्रिपरिषद्का मन्त्री चन्द्रदेव जोशी पनि पर्नुभएकाले उहाँले भ्रष्टाचार गरेको भन्नेमा विश्वास गर्न नसकिने बताउनुभयो ।
नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले निष्पक्ष निर्णय गर्नुपर्नेमा सरकारको दबाबका कारण अख्तियारले राजनीतिक पूर्वाग्रहको आधारमा निर्णय गरेको दाबी गर्नुभयो । प्रधानमन्त्रीको स्वीकृति र सहमतिमा पारित हुने विषयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर अरु मन्त्रीलाई मुद्दा लगाउनु गलत रहेको उहाँको भनाइ थियो । ‘केही जग्गावालालाई मुद्दा लगाइएको छ, केहीले जग्गा फिर्ता गरेकै आधारमा नलगाएको भनिएको छ, यो ठिक भएन, अब पार्टीले राजनीतिक र कानुनीरूपमा सामना गर्ने छ’, खाँडले भन्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले ठूलादेखि नै कारबाही प्रक्रियाको सुरुवात भएको उल्लेख गर्दै संसदमा अवरोध पुर्याउने कुरा प्रजातान्त्रिक प्रणाली मान्ने राजनीतिक पार्टीका निम्ति सुहाउँदो नभएको उल्लेख गर्नुभयो । दोषी कुनै व्यक्तिले पनि छुट पाउन नहुने भन्दै उहाँले अदालतले उचित निर्णय गर्ने बताउनुभयो । उहाँले सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फरक नदेख्नु नै दृष्टिदोष हो भन्नुभयो ।