काठमाडौँ – कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिने टिपर फेला परेको छ। बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुमा भेटिएको हो । बा ४ ख८५७९ नम्बरको टिपर नख्खु पुलवारि रहेको चन्द्र सुर्य ग्यारेजमा लुकाएर राखेको अवस्थामा फेला परेको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
राति साढे १२ बजेतिर अन्डरपासमा बल्खुबाट स्वयम्भुतिर जाँदै गरेको उक्त टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । राति अँध्यारो भएका कारणले हामीलाई गाडीको नम्बर चिन्न गाह्रो परेको थियो पछि खोज्दै जादाँ लुकाएको अवस्थामा फेला पार्यौँ’ डिएसपी बोगटीले सेतोपाटीसँग भने, ‘तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ ।’
टिपरको ठक्करबाट प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलका चालक रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राजेशकुमार चौधरी र पछाडि बसेका कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरी गम्भीर घाइते भएका थिए ।