काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई गतिशील बनाउँदै जनताको सेवामा लाग्नुको कुनै पनि विकल्प नभएको बताउनुभएको छ ।
पार्टी निकट राष्ट्रिय युवा सङ्घ कास्कीको भेलालाई बुधबार पोखरामा सम्बोधन गर्दै उहाँले बाँकी तीन वर्षसमेत पूरै काम गर्न पाउने अवस्था नरहेकाले पार्टी, जनसङ्गठन र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउँदै विकास निर्माणका कामलाई नयाँ ढङ्गले गति दिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘सरकारको दुई वर्ष बित्यो, तीन वर्ष पूरा काम गर्न पाउने स्थिति छैन, अन्तिम वर्षमा फेरि चुनाव लाग्छ । दुई र बढीमा साढे दुई वर्षको अवधिमा अब एक दिन पनि गुमाउने स्थिति हामीलाई छैन।’ भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले तीन महिने कार्ययोजना बनाएको जानकारी दिँदै उहाँले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाउने, लोकप्रिय नीति, कार्यक्रम र बजेट ल्याएर जनताको मन छुने ढङ्गले पार्टी अघि बढ्ने स्पष्ट पार्नुभयो ।
बैठकले पार्टी एकीकरणमा ढिलाइ हुँदा उत्पन्न मनोविज्ञान, चिन्ता र अन्यौलको स्थितिलाई समाप्त पारेको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘ढिलै भए पनि हामीले अन्याेलको स्थितिलाई सफलता र उत्साहका साथ चिरेका छौँ, राम्रो अन्तरघुलनसहित सबै निर्णयहरु एकमत र सर्वसम्मतले गरेका छौँ, अब अगाडि बढ्नलाई केही रोकावट छैन ।’
राष्ट्रिय सभा चुनावपछि सङ्घीय संसदमा एक्लै दुई तिहाइ बहुमत पुगेको चर्चा गर्दै उहाँले जनताको राम्रोसँग सेवा गर्दै सङ्गठन विस्तार तथा सुदृढीकरणका माध्यमबाट अर्को पटकसमेत दुई तिहाइ बहुमत आउने गरी काम गर्न युवालाई निर्देशन दिनुभयो ।
देशभित्र र बाहिरका शक्तिले पार्टीमा विवाद चर्किएर जाला र पार्टी एकतालाई सफल हुन नदिने कोसिस गरेकोमा केन्द्रीय बैठकले सबै प्रयासलाई सफलतापूर्वक चिरेर जनतामा जाने तयारी गरेको उहाँले उल्लेख गर्नुभयो ।


जनता भ्वाइस 







