images
images

कुखुराको भाउ महँगो हुनुको कारण खोज्दै सरकार, ‘किसानको लगानी जोगाउन भाउ बढाएका हाैँ’– व्यवसायी

काठमाण्डाै – सरकारले कुखुराको भाउ महँगो हुनुको कारण खोज्न थालेको छ । एक महिनामै किलोमा एक सय ६० रुपैयाँ भाउ महँगो भएपछि सरकारले कुखुराको भाउ महँगो हुनुको कारण खोज्न थालेको हो ।

मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई स्पष्टीकरण सोधेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही प्रक्रियाका लागि पशुसेवा विभागसँग छलफल गर्न लागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक नेत्रप्रसाद सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।

स्पष्टीकरण सोधिएकाबाट जवाफ प्राप्त भएको र उनीहरुको जवाफ तथा कारबाहीको प्रक्रियाका बारेमा पशु सेवा विभागका पदाधिकारीसँग थप छलफल गर्न लागेको उहाँले बताउनुभयो । व्यवसायीहरुले यसअघिको मासुको मूल्यबाट किसानको लगानी समेत नउठेकोले भाउ बढाउन आवश्यक रहेको जवाफ दिएका छन् । चल्ला उत्पादकले गएको मङ्सिर २९ गतेबाट १० दिनसम्म चिकेन होलिडे मनाएर झण्डै ४० लाख चल्ला तथा ६० लाख अण्डा नष्ट गरेका थिए ।

अहिले कुखुरा कम भएपछि किलोमा एक सय ६० रुपैयाँ बढेर कुखुराको मासु किलोको चार सय २० रुपैयाँ पुगेको छ । व्यवसायीले भाउ बढाउन जानीजानी चल्ला र अण्डा नष्ट गरेको भन्दै उपभोक्ता भने आक्रोश भएका छन् ।