काठमाडौँ – पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष हत्याको निष्पक्ष छानबिन माग गर्दै बुधबार बिहानैदेखि विनायक बजार बन्द गरिएको छ । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा चक्काजाम गरेका छन् । पसलहरु पनि बन्द छन् । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
पञ्चदेवल बजारमा बिहानैदेखि टायर बालिएका छन् । सवारी आवगमन पनि बन्द गरिएकाे छ । पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी को हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन् । अनुसन्धानका लागि प्रहरीकाे टाेली धनगढीबाट अछाम पुगेको जानकारी प्राप्त भएको छ ।
तालिम प्राप्त कुकुरसहितको टोलीले बुधबार अनुसन्धान प्रक्रिया सुरु गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले जानकारी दिनुभयाे । मङ्गलबार बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेकाे गैरीगाउँको गोठमा उहाँको शव भेटिएको थियाे ।