images
images

आउँदाे चुनावमा नेकपाले दुई तिहाइ ल्यायाे, कसैले राेकेर राेकिँदैन : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले पनि न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलक रुपमा काम गर्न नसक्ने दाबी गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गर्नुभयो ।

उहाँले पार्टीका महिला नेता कार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिँदै भन्नुभयो, ‘परिवर्तन र कम्युनिस्ट विरोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थाहसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन । यो काम हाम्रो सङ्गठनले मात्रै गर्न सक्छ ।’

वर्तमान सरकारले विकास निर्माणलाई गति दिएकाले आउँदाे आम चुनावमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उहाँले जनाउनु भयो । सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो । कसैले रोकेर रोकिँदैन । रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ ।’

अध्यक्ष ओलीले पार्टीभित्र सबै नेताहरु एकता र एकमतका साथ देशकाे समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागि न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा अध्यक्ष छु । प्रधानमन्त्री छु । निर्णयहरु एकता र सहमतिका साथ गरिएको छ । को बहुमत र अल्पमतमा भन्ने खुद्रा मसिना कुरामा हाम्रो ध्यान छैन ।’

आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक भर्खरै सम्पन्न पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गरेको बताउँदै उहाँले त्यसलाई अध्ययन गरी प्रचार गर्न पनि महिला नेतृहरुलाई आग्रह गर्नुभयो । उहाँले छाउपडी जस्ता कुप्रथा अन्त्यका लागि मन, मस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै विद्रोह र सङ्घर्षलाई सही बाटाका साथ सङ्घर्ष र मेलमिलापबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि बताउनु भयो ।

सङ्घको एकतापछि चार हजार चार सय ७५ सदस्यीय केन्द्रीय समितिका सदस्यले मङ्गलबार शपथ ग्रहण गरेका छन् । सङ्घका अध्यक्ष अमृता थापाले अब आफूहरु छिट्टै जिल्ला तहको एकतामा जाने जानकारी दिनुभयो ।