images
images

राष्ट्रिय दलित पत्रकार संघ तनहुँको अध्यक्षमा सानेबहादुर नेपाली चयन

तनहुँ – राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँको पहिलो अधिवेशन तथा जिल्ला भेलाले सानेबहादुर नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । ब्यास नगरपालिका-१३ आँपस्वारामा आयोजित भेलाले राससका तनहुँ समचारदाता नेपालीको अध्यक्षतामा उक्त कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

उक्त समितिको उपाध्यक्षमा भिमाद एफएमका शालिकराम गहतरात, सचिवमा रेडियो नेपाल तनहुँ समाचारदाता अशोक विश्वकर्मा, कोषाध्यक्षमा तनहुँ टेलिभिजनकी सविता विश्वकर्मा र सहसचिवमा भिमाद एफएमकी मनिषा कोइराला विक चयन भएका छन् । यस्तै सदस्यहरुमा अन्जान परियार, सुरेश सुनार, कोपिला सुनार, शर्मिला विक, प्रकाश विक, अमृत परियार, देव गजमेर र मुना विक चयन भएका छन् । उक्त अधिवेशन मार्फत ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

समितिमा विनोदकुमार विक विकास, जनार्दन वियोगी, सन्तोष विक, सम्झना रसाइली र विनोद सेन्चुरी रहेका छन् । उक्त भेलामा गण्डकी प्रदेश सभा सदस्य डोवाटे विक, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडी, ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइली, पालुङटार नगरपालिका गोर्खाकी उपमेयर पम्फा बसेल, नेकपाका केन्द्रिय सदस्य रणेन्द्र बराइली, संघीय समाजबादी पार्टीका केन्द्रिय सदस्य जनार्दन वियोगी, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भुवन सिं सुनार, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै दलित समुदायको विकास र जातीय रुपमा हुने असमानताको अन्त्यका लागि पत्रकारहरुले कलम चलाउनु पर्ने बताए ।