images
images

बैठकपछि उत्साही प्रचण्ड

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको पाँच दिनसम्म बसेको केन्द्रीय कमिटी बैठक आइतबार सकिएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७४ जेठमा पार्टी एकता भएर नेकपा बनेपछिको पहिलो बैठक निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि बसेको थियो ।

सैद्धान्तिक, वैचारिक रूपमा छलफल गर्ने गरी केन्द्रीय कमिटी बैठक बसेको भने यसपालि पहिलो पटक हो । यो बैठकमा नेकपाका केन्द्रीय नेताहरूको मनस्थिति, पार्टीभित्रको शक्ति-सन्तुलन, सरकारसँगको सन्तुष्टि/असन्तुष्टिका आयाम मात्र होइन, नेताहरूका व्यक्तित्व र फरक शैली पनि प्रकट भए।

त्यस्तै, केन्द्रीय समिति बैठकले पार्टी र सरकारको ‘हिजो’को मात्र विवेचना गरेको छैन, नेकपाको आगामी राजनीति कसरी जान सक्छ भन्ने केही छनक पनि छाडेको छ।

प्रधानमन्त्री ओलीको रक्षात्मक प्रस्तुति, प्राविधिक उपस्थिति

माघ १५ गते सुरू भएको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले गरेको २ घण्टाभन्दा लामो उद्घाटन मन्तव्यमा दिए । उनले सरकारको बचाउ गर्नैमा २ घण्टा समय खर्चिए । प्रधानमन्त्री ओली सामान्यत: आफूलाई केन्द्रमा राखेर आक्रामक शैलीमा भाषण गर्ने गर्छन् ।

यसपालिको उनको भाषण भने ‘रक्षात्मक’ देखिएको धेरै केन्द्रीय सदस्यहरूले नै बताएका छन्।ओलीले फाइल नै पल्टाएर सरकारको बचाउमा बोलेका विवरणलाई केन्द्रीय सदस्यहरूले संसदको भाषण जस्तो भनेर समेत टिप्पणी गरेका थिए । प्रधानमन्त्रीले उद्घाटन मन्तव्य जसरी सरकारको बचाउमा खर्च गरे, समापन मन्तव्यमा त्यसैरी नै बचाउ गरे ।

त्यसबाहेक कुनै पनि छलफल वा पार्टीका आन्तरिक बैठकमा उनले भाग लिएनन्। त्यसैले उनको उपस्थिति धेरै प्राविधिक जस्तो देखियो।