images
images

विद्यालय अगाडि भागदौड मच्चिँदा केन्यामा १४ जना बालबालिकाको ज्यान गयो

काठमाण्डौ – पश्चिमी केन्याको एउटा प्राथमिक विद्यालय अगाडि भागदौड हुँदा कम्तीमा १४ जना बालबालिकाको ज्यान गएको छ । भागदौडमा अन्य ४० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको अधिकारीहरुले बताएका छन् । सामान्य घाइते भएका केही विद्यार्थी भने उपचारपछि घर फर्किएका छन् ।

केन्याका शिक्षा मन्त्री जर्ज मागोहाले पनि १४ जना बालबालिकाको ज्यान गएको पुष्टि गरेका छन् । भागदौडलाई लिएर उनले भने, ‘विद्यार्थीहरुलाई गुमाउनु निकै दुःखदायी हो । आफ्ना बालबालिका गुमाउने अभिभावकप्रति मेरो समवेदना छ । ’राजधानी नैरोबीबाट उत्तर दक्षिणमा पर्ने काकामेघा प्राथमिक विद्यालयका विद्यार्थी घर जाने तयारी गरिरहेका बेला भागदौड भएको हो ।

भागदौडको कारण अहिलेसम्म खुलेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान थालेको छ । विद्यार्थीहरु साँघुरो भर्‍याङबाट तल झर्ने क्रममा कसैले ‘भर्‍याङ भत्कियो’ भनेर बताएको केही प्रतिवेदनमा भनिएको छ ।