images
images

दलित बस्तीमा जमिन्दारको डोजर : १२ मुसहर परिवार घरबारविहीन

राजविराज : तीन पुस्तादेखि बसोवास गर्दै आएका सप्तरीको राजगढ गाउँपालिका-४ वेल्ही चपेनाका १२ मुसहर परिवारको घर भत्काएपछि उनीहरु बिच्चलीमा परेका छन् । न्याय माग्दै आइतबार सदरमुकाम राजविराज आएका उनीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाउँदै पुनरवासको व्यवस्थापनका लागि आग्रह गरेका छन् ।

संविधानको धारा ४० को उपधारा (५) मा उल्लेख भएअनुसार ‘भूमिसम्बन्धी (सातौं संशोधन) ऐन २०७५’ मा भूमिहीन विपन्नलाई एक पटकका लागि तोकिएबमोजिम जमिन उपलब्ध गराउनुपर्ने विषय उल्लेख छ । तर, तीन पुस्तादेखि बसोवास गर्दै आएका राजगढ गाउँपालि-४ वेल्ही चपेनाका दलित मुसहर बस्तीलाई हटाउन अदालतबाटै आदेश भएपछि घर भत्काइएको कारणले १२ परिवारका एक सयभन्दा बढी मुसहर अलपत्र परेका छन ।

‘दुई शताब्दीभन्दा बढी भयो, हामी यहाँ बसावास गरेको’, फुदनदेवी सदाले भनिन्,‘ऐलानी जग्गा नै हो, हाम्रा पूर्वजले सुनाएका थिए ।’ तर, केही वर्षदेखि रामबहादुर मण्डलले बस्ती बसेको जग्गा आफ्नो रहेको भन्दै मुद्दा हालेका र अहिले बस्ती नै भत्काउन लगाएपछि आफुहरु अलपत्र परेको सदाले दुखेसो गरिन् ।

न्याय गुहार्दै आज (आइतबार) बालबालिका तथा भाँडाकुडा सहित लिएर सदरमुकाम राजविराज आएका उनीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमा पर्नरवासको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ‘जग्गा ऐलानी नै थियो, २०२८ सालतिर भएको नापीको क्रममा मण्डलले जालझेल गरेर बस्तीको जग्गा आफ्नो नाममा पारेको हो’, सोही ठाउँका वासुदेव सदाले भने,‘हामी तीन पुस्तादेखि बसोबास गर्दै आएका थियौं, यति वर्षसम्म किन बस्ती खाली गर्न लगाइएन त ?’

उनले दलितलाई हेप्ने मानसिकताका कारणले आफुहरुलाई चिसोमा आकाशमुनि बस्नुपर्ने बाध्यता आइलागेको बताए । ‘गाउँपालिकाका जनप्रतिनिधिमा दलित मुसहर समूदायलाई हेर्ने मानसिकता ठिक छैन, उनीहरु पनि बस्ती हटाउने पक्षमै छन्’, उनले भने,‘बसोवासको व्यवस्था मिलाउनुपर्ने दायित्व त जनप्रतिनिधिको हो नि । ’बसोवासको व्यवस्था विना नै यसरी बस्तीमा डोजर चलाएपछि अहिले छाक टार्नसमेत समस्या भएको उनले बताए ।

गाउँपालिका अध्यक्ष परमानन्द यादवले दलित बस्तीलाई पुर्नरवासका लागि व्यवस्थापन मिलाउन प्रयास भइरहेको बताए । अदालतले जारी गरेको आदेशअनुसार जग्गा धनी मण्डलको नाममा सो ठाउँमा रहेको ५ कठ्ठा साढे ७ धुर जग्गा खाली गर्न–गराउन भनिएको छ ।