काठमाण्डौ – कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । यस सडक खण्डको दायाँ-बायाँ दुबैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको हाे । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका ) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो ।
मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै त्यस खण्डमा तीनदेखि चार लेन थप्न सडकको चौडाइ विस्तार गर्न लागिएको हो । हाल यस सडक खण्डको उत्तरतर्फ एक लेन थपिने र दक्षिणतर्फ दुई तीन लेनसम्म थप्ने गरी योजना बनाइएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिनुभयो ।
उत्तरतर्फ एक लेनसम्म थप्न सडककै जग्गा रहेको छ । हाल पैदलयात्रु मार्ग र ढल रहेका स्थानलाई सारेर लेन तयार गर्न सकिन्छ । दक्षिणतर्फ चौडाइ बढाउन पर्यटन मन्त्रालयसँग छलफल भइरहेको छ । उहाँले भन्नुभयो, ‘मन्त्रालयसँगको समन्वयमा नागरिक उड्डयन प्राधिकरणको जग्गामा दुई तीन लेन थप्न सकिनेछ।’
उत्तरतर्फको थप हुने भनिएको लेनमा हाल भौतिक संरचनाका रुपमा एउटा मात्रै घर रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उक्त घर तीनकुने– सूर्यविनायक सडक विस्तारका क्रममा समेत भत्काउन सकिएको थिएन । मन्त्रिपरिषद् बैठकले उक्त घर भत्काउने निर्णय गरिसकेको जनाइएको छ ।
उहाँले भन्नुभयो, ‘त्यसलाई अधिग्रहण गरेपछि नै उत्तरतर्फ एक लेन थप गर्न सकिनेछ ।’ जडीबुटीबाट लोकन्थलीतर्फ जाने मात्रै होइन, पेप्सीकोलातर्फ जाने गाडीसमेत जाममा पर्ने गरेका छन् । त्यस्तै, कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सवारीसाधनसँगै दैनिक बालकुमारीतर्फ जाने सवारीसाधनसमेत रोकिने गर्छन् ।
उत्तरतर्फ विस्तार हुने एक लेनले पेप्सीकोलातर्फ र कोटेश्वरबाट बालकुमारीतर्फ जाने गाडी निर्वाधरुपमा जान सक्ने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । विमानस्थलको ‘लाइटिङ सिस्टम’ का कारण बारभन्दाभित्रको क्षेत्र सडकले तत्काल पाउन नसक्ने देखिएको छ । दक्षिणतर्फ सडकको क्षेत्रबाट विमानस्थलको जग्गा लिएर थप गर्न सकिने देखिएको छ । उहाँले भन्नुभयो, ‘त्यसका लागि केही संरचना नै भत्काउनुपर्ने हुनसक्छ ।’
आगामी वैशाख जेठ महिनामा ट्र्याक खोलेर सकेसम्म चाँडो सडक सञ्चालनमा ल्याउने विभागले जनाएको छ । दुबैतर्फ एकएक लेन मात्रै थप्दा पनि त्यसले यहाँको जामलाई थोरै भए पनि राहत दिनसक्ने प्रवक्ता सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विमानस्थललाई असर नपर्ने गरी कति लेनसम्म थप्न सकिन्छ भन्ने अहिले छलफल भइरहेको छ ।’
जाइकाले यसअघि नै कोटेश्वर–जडीबुटी सडकमा पूर्वसम्भाव्यता अध्ययनसमेत गरिसकेको छ । विस्तार तत्काल समाधान मात्रै हुने जनाइएको छ । प्रवक्ता सापकोटाले भन्नुभयो, ‘यहाँको दीर्घकालीन समाधान भनेको ‘अण्डरपास’ हो ।
’जाइकाले गरेका पूर्वसम्भाव्यता अध्ययनमा मुख्य सडकमै वा विमानस्थलको क्षेत्रमा ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माण गर्न सकिने पाइएको सडक विभाग, विकास समन्वय महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘विश्वका धेरै देशमा माथि ‘रनवे’ र तल ‘अण्डरपास’ हुने गरेको छ, मुख्य सडकमा निर्माण नगर्दा निर्माण अवधिमा समेत गाडी आवतजावतमा समस्या हुँदैन ।’