सरकारले नोवेल कोरोनाभाइरसको उदगम थलो चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गर्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक तयारी पनि भइरहेको बताएको छ । बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीलाई फारम भर्न भनेको छ । वुहानलगायत हुवेई प्रान्तमा रहेका नेपालीहरूले दूतावासमा फारम बुझाइसकेका छन् ।
फारम बुझाए पनि आफूहरू कहिले नेपाल फर्किन पाउने हो भन्ने उनीहरूमा अन्यौल छ । ‘हामीले फारम आज बिहान फारम भरिसक्यौं तर दूतावासले घर लैजाने जहाज कहिले आउँछ केही भनेको छैन,’ वुहानमा रहेका नेपाली विद्यार्थी चन्द्रभूषण साहले सेतोपाटीसँग वीच्याटमा भने । अधिकारीहरूका अनुसार वुहान जहाज पठाउन अझै एक-दुई दिन लाग्न सक्छ ।
‘अहिले उताबाट डाटाहरू संकलन भइरहेको छ । कति जना आउने टुंगो भएपछि हामी त्यहीअनुसार चार्टर्ड उडानको व्यवस्था गर्छौं,’ नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्,‘त्यसपछिमात्र जहाज कुन विमानस्थलमा जाने, क्रु मेम्बर को-को जाने टुंगो लाग्छ । ’वुहानबाट फिर्ता ल्याइएका नागरिकलाई कम्तिमा १४ दिनसम्म अरूको सम्पर्कसँग दिइँदैन । वुहानबाट नागरिक फिर्ता ल्याएका देशले उनीहरूलाई राख्न छुट्टै क्याम्प बनाएका छन् ।
भारतले हरियाणाको मानेशरमा क्याम्प बनाएको छ। उक्त क्याम्प भारतीय सेनाले बनाएको हो । बंगलादेशले विमानस्थलनजिकै क्याम्प बनाएको छ। वुहानबाट ल्याइएकालाई विज्ञ चिकित्सकहरूको निगरानीमा ‘अस्कोना हाजी’ क्याम्पमा राखिएको छ । नेपाल सरकारले भने फर्काएर ल्याइएकालाई कहाँ राख्ने भन्ने टुंगो लगाउन सकेको छैन ।
‘कहाँ राख्ने भन्ने हामी छलफल गरिरहेका छौं। निर्णय भएको छैन,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने,‘ठाउँ टुंगो भएपछि पनि तयारी गर्न एक/दुई दिन लाग्छ । ’अहिलेसम्म चीनमा रहेका नेपालीलाई कोरोनाभाइरस देखिएको छैन ।
नेपाल ल्याउँदा उनीहरूमा संक्रमण देखिए राख्नका लागि टेकुलगायतका अस्पतालमा आइसोलेटेड बेडहरू बनाइएको छ । ‘बिरामी नभएको मान्छेलाई अस्पताल लिएर राख्ने कुरा हुँदैन । उहाँहरूलाई अब्जर्भेसनमात्र राख्ने हो,’ श्रेष्ठले भने । नोवेल कोरोनाभाइरसको संक्रमणबाट चीनबाहिर पनि एक जनाको ज्यान गएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार फिलिपिन्सको मनिलामा कोरोनाभाइरस लागेका एक जना पुरूषको शनिबार मृत्यु भएको हो । ती पुरूष वुहानबाट फिलिपिन्स फर्किएका थिए । फिलिपिन्समा अर्का एक जनालाई पनि यो भाइरस देखिएको छ । भाइरसको संक्रमण रोक्न फिलिपिन्सले चीन, हङकङ र मकाउका नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न रोक लगाएको छ ।
गत डिसेम्बरमा हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस अहिले संसारका विभिन्न देशमा फैलिएको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा महामारी फैलिने सक्ने ठानेर विश्व स्वास्थ्य संगठनले गत बिहीबार विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
यता चीनमा उक्त भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार बिहानसम्म कोरोनाभाइरसले ३ सय ४ जना चिनियाँको ज्यान लिएको छ । १२ हजारभन्दा बढी चिनियाँमा यसको संक्रमण देखिएको छ ।