images
images

चितवन राष्ट्रिय निकुञ्जमा विषाक्त खानाले मरे तीन गैँडा

काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जमा मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेको खुलेको छ । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनमा पाइएको थियो। गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत थियो।

श्रेष्ठका अनुसार ती गैँडाको शव परीक्षणमा आन्द्रा र पेटमा रक्तश्राव भएको भेटिएको थियो। यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उनले बताए । ‘ती गैँडाका अङ्गको नमूना सुरक्षित राखेका छौँ, कहाँ विषादीको परीक्षण हुन्छ बुझ्ने काम भइरहेको छ,’ श्रेष्ठले भने।

मरेका तीनै गैँडाको अन्य महत्वपूर्ण अङ्गमा कुनै समस्या देखिएको छैन। सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उनले विषाक्त तोरीका कारण मरेको हुन सक्ने अनुमान गरिएको जानकारी दिए । यद्यपि प्रयोगशालाबाट परीक्षण भएपछि मात्र यकिन भन्न सकिने उनको भनाइ छ ।

शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन् । यससँगै अन्य गैँडा भने कालगतिले मरेको उनले बताए । मरेका गैँडा कोही बुढो भएर त कोही जुधेर वा दलदलमा फसेर एवम् करेन्ट लागेर मरेका हुन् ।

गत कात्तिकदेखि चालु महिनासम्म प्राकृतिक कारणले धेरै गैँडा मर्ने गरेको निकुञ्जको तथ्याङ्कले देखाउछ । गत साल प्राकृतिक कारणले ४३ गैँडा मरेका थिए । यस वर्ष सात महिना पुग्न लाग्दा १४ गैँडा मरेका हुन् ।