काठमाडौँ – भरतपुर अस्पतालले बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ अलग गरेको छ। पाँच वटा टिकट काउण्टरमध्ये एउटामा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलगरुपमा गर्ने व्यवस्था मिलाइएको छ। कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए।
उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ। कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आइतबार अस्पताल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मास्क लगाएर नमस्कार गर्दै सन्देश प्रवाह गरेका छन्। कार्यालय समय सुरु हुने समयमा बिहान १० बजे पछि सबै अस्पताल बाहिर भेला भएर एकै साथ मुखमा मास्क लगाएर दुई हात जोडी नमस्ते गरेका थिए।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तिवारीले हात नमिलाऔँ दिल खोलेर नमस्ते गरौँ भन्ने आम नागरिकलाई सन्देश प्रवाह गर्न छोटो कार्यक्रम गरिएको बताए। बिरामीको उच्च चाप हुने समयमा सबैलाई सचेतना जगाउने गरी भिडभाडमा मास्क लगाउन र हात नमिलाउन सन्देश प्रवाह भएको उनले जानकारी दिए।
आफूलाई जचाउने चिकित्सक कर्मचारी नै उभिएर नमस्ते गरेपछि उपचारका लागि आएका बिरामी र तीनका आफन्तले अस्पतालको दृश्य हेरेर त्यसको कारणबारे सोधपुछ गरेका थिए। प्रमुख तिवारीले चिकित्सक, कर्मचारीलाई उपचारका क्रममा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।