images
images

कुकुरको दाना निर्यात गरेर नेपालले भित्र्यायाे ६ महिनामा ५८ करोड रुपैयाँ

काठमाण्डाै – नेपालले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै साढे ५८ करोड रुपैयाँको ‘कुकुर बिरालोका खाना’ निर्यात गरेको छ । गएको साउनदेखि पुससम्म नेपालले ५८ करोड ४४ लाख रुपैयाँ बराबरको तीन लाख ५२ हजार किलो ‘कुकुर तथा बिरालोको खाना’ निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

अमेरिका, बेलायत, क्यानडा, सिङ्गापुरलगायत देशमा इलाम र सोलुखुम्बुबाट निर्यात हुने छुर्पीलाई भन्सार विभागले ‘कुकुर बिरालोको खाना’को रुपमा व्याख्या गरेको छ । नेपालको छुर्पी स्वादिष्ट हुने र त्यहाँका कुकुर बिरालोलाई समय कटाउन सजिलो हुने भएकाले माग बढिरहेको नेपाली व्यवसायी बताउँछन् ।

चालु आर्थिक वर्षको ६ महिनामा दुबई, बेलायत, हङकङ, जापान, नेदरल्याण्ड्स, सिङ्गापुर, सियरा लियोन, थाइल्याण्ड, ताइवानलगायतका ११ देशमा नेपाली छुर्पी कुकुर र बिरालोको दानाको रुपमा निर्यात भएको छ । सबैभन्दा धेरै अमेरिकामा तीन लाख १० हजार किलो, क्यानडामा २४ हजार किलो, सिङ्गापुरमा १८ हजार किलो, बेलायतमा चार हजार किलो र ताइवानमा १५ सय किलो कुकुरको दाना निर्यात भएको भन्सार विभागले जनाएको छ ।

गएको आर्थिक वर्षमा नेपालबाट एक अर्ब पाँच करोड रुपैयाँ बराबरको ६ लाख ३६ हजार किलो ‘कुकर बिरालोको खाना’ निर्यात भएको थियो ।