images
images

नेकपाका केन्द्रीय सदस्यहरु नेतृत्वको जवाफ पर्खंदै

काठमाण्डाे – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक आइतबार सकिँदैछ । बैठकमा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ नेतृत्वले दिएसँगै अध्यक्षद्वय तथा महासचिवको प्रस्ताव पारित गरेर बैठक सकिने नेकपाले जनाएको छ ।

बैठकमा १५ वटा समूहका नेता तथा प्रदेश र समन्वय किमिटीका २५ जनाले शुक्रबार र शनिबार प्रतिवेदन बुझाइसकेका छन् । आइतबारकाे बैठक दिउँसो १ बजेपछि सुरु हुनेछ । त्यसअघि सचिवालय बैठक बसेर दुवै जना अध्यक्षले जवाफ दिने वा एक जनाले दिने भन्ने निर्णय गर्ने नेकपाले जनाएको छ ।

समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यले नेताहरुको जीवनशैली विलासी बनेको, पार्टी र नेतामा भ्रष्ट आचरण मौलाएको, पार्टीमा नेतृत्वले नै गुटको नेतृत्व गरेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको जस्ता प्रश्न उठाएका छन् । १५ वटा समूहले आ–आफ्नो प्रतिवेदन पेस गर्दै देशमा भ्रष्टाचार नियन्त्रण गर्न पार्टी नेतृत्व र सरकारलाई सुझाव दिएको छ । ती समूहले समाजको चरित्र, व्याख्या विश्लेषण गरी नेपाली नमुनाको समाजवाद निर्माण गर्नुपर्ने मुख्य सुझाव दिएका छन् ।

समूह ५ का नेता ठाकुर गैरेले नेपाली विशेषतामा आधारित समाजवाद ल्याउन र समाजवादका आधार तयार गर्न सुझाव दिनुभयो । समूह १५ का नेता हिमाल शर्माले समाजवादतर्फ लैजान शिक्षा र स्वास्थ्यबाट सुरुवात गर्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो प्रतिवेदनमा शिक्षा र स्वास्थ्यलाई व्यापारको विषयवस्तु बनाउन नहुने सुझाव दिएको जानकारी दिनुभयो ।

समूह ५ का नेता गैरेले भ्रष्टाचार ठूलो समस्या बनेकाले भ्रष्टाचारीलाई हदैसम्मको कारबाही गर्नुपर्ने व्यवस्था राखेर नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो । ‘घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ पर्नु, नीतिगत भ्रष्टाचार, ठेक्कापट्टा जस्ता गैरराजनीतिक क्रियाकलापमा पार्टीका नेता कार्यकर्ताको नाम जोडिने कुराले ‘सरकारको भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने नारालाई कमजोर बनाएको छ’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचार जघन्य अपराध हो, यस्तो काम गर्नेलाई मृत्युदण्ड दिनुपर्दछ भन्ने मतसमेत प्रकट भएको छ ।’

नेता गैरेले नेकपाका नेता कार्यकर्ताको जीवनशैली, चालचलन, आचारविचार, सरसम्बन्ध पूर्णरूपमा सरल र जनपक्षीय हुने कुरा सुनिश्चित गरिनुपर्ने आफ्नो प्रतिवेदनमा समेट्नु भएको छ । समूह ३ का नेता खिमलाल भट्टराईले देशमा भ्रष्टाचारमुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले देशमा सुशासन कायम राख्न भ्रष्टाचार विरोधी अभियान पार्टी र सरकारले सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

नेता भट्टराईले पार्टी नेतृत्व एकताबद्ध भएर सरकारले गरेका उपलब्धिको प्रचार गर्न लाग्नुपर्ने सुझाव दिनुभयो । समूह १५ का नेता हिमाल शर्माले पार्टीले नै सरकार चलाउने कुनै पनि महत्वपूर्ण निर्णय लिँदा पार्टी पक्तिसँग सल्लाह गरेर मात्र गर्नुपर्ने भन्दै पार्टीको सहमतिमा राजनीतिक नियुक्तिदेखि विधेयक ल्याउनुपर्ने बताउनु भयो ।