images
images

कङ्गोमा लडाकुकाे आक्रमणमा परेर २४ जनाकाे मृत्यु

काठमाण्डौ – प्रजातान्त्रिक देश कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकुले गरेको पछिल्लो आक्रमणमा २४ सर्वसाधारणको ज्यान गएको छ। यसै साताभित्र विद्रोही लडाकुको आक्रमणबाट मारिनेको संख्या ६० पुगेको अधिकारीहरुले बताएका छन् । अस्थिर बेनी क्षेत्रको ओइचा नजिकै २४ जनाको शव भेटिएको वरिष्ठ प्रशासक डोनाट किबवानाले जानकारी दिनुभयो ।

तर कङ्गो अनुसन्धान समूह र ह्युमन राइट्स वाचको संयुक्त विज्ञप्तिमा त्यस आक्रमणमा १९ जनाको मात्र ज्यान गएको उल्लेख छ । कङ्गोको सेनाले एडीएफ समूह विरुद्ध सैन्य अभियान सञ्चालन गरिरहेको छ । छिमेकी मुलुक युगान्डामा स्थापना भएको एडीएफ हाल कङ्गोको पूर्वमा सक्रिय छ । यो क्षेत्र लामो समयदेखि विभिन्न समूहको आक्रमणबाट आक्रान्त छ ।

कङ्गो र यसका छिमेकी देशमा सक्रिय समूहहरु आम नागरिकको नरसंहारमा निरन्तर संलग्न रहेको पाइएको छ । बेनीमा अक्टोबर २०१४ देखि सक्रिय एडीएफले एक हजारभन्दा बढी नागरिकको हत्या गरिसकेको छ । यो समूह मूल रुपमा अतिवादी इस्लामिक विद्रोही समूह हो । यस समूहले सुरुका वर्षहरुमा युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीको विरोधीका रुपमा आफूलाई उभ्याएको थियो ।

सन् १९९५ देखि यो समूह कङ्गो युद्धमा सहभागी भएको थियो र युगान्डाभित्र सैन्य कारबाही रोकेको थियो । यो समूहमा विभिन्न देशका नागरिक भर्ती भएको अनुमान छ । संयुक्त राष्ट्रका विज्ञहरूले २०१८ मा यो समूहमा करिब ४५० जना लडाकु मात्र रहेको बताएका छन् ।