images
images

सांसदकाे गुनासाे : पर्याप्त सार्वजनिक शाैचालय बनाउन ध्यानाकर्षण हाेस्

काठमाडौ – सांसदहरुले काठमाण्डाैमा पर्याप्त सार्वजनिक शाैचालय बनाउन माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारकाे बैठकको शून्य समयमा सांसद आशाकुमारी विकले काठमाण्डाै उपत्यकामा सार्वजनिक शौचालय नहुँदा लाखौँ यात्रुलाई समस्या भएको बताउनु भयो ।

सार्वजनिक शाैचालय नभएकाले घर बाहिर निस्कँदा पानी नखाइ निस्कनु पर्ने अवस्था रहेको भन्दै उहाँले तत्काल मापदण्डअनुसारका पर्याप्त सार्वजनिक शौचालय बनाउन सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।

यस्तै सांसद इन्दु शर्माले प्रदेश २ मा चुरेको दोहन रोक्न लागेका अभियन्ता दिलिप महतोको हत्यामा संलग्नलाई कारबाहीकाे माग गर्नुभयो । सांसद उमा रेग्मीले बाजुराका हेमबहादुर राउतको काठमाण्डाैकाे कोटेश्वरमा प्रहरी हिरासतमा रहेका बेला ज्यान गएको बारेमा छानबिन गर्न माग गर्नुभयो ।

यस्तै कुमारी तुलसी थापाले बाढी पहिरो प्रभावित र सुकुम्बासीलाई उचित व्यवस्थापन र खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भैरहेको प्रगतिको विवरणबारे जानकारी गराउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद गजेन्द्रबहादुर महतले भने सुदूरपश्चिममा छाउगोठ भत्काउने काम भैरहेकोमा आपत्ति जनाउँदै तत्काल रोक्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले सरकारलाई छाउगोठ भत्काउने अभियानमा लाग्नुभन्दा पनि विकास निर्माणको काममा जुट्न सुझाव पनि दिनुभयो ।

यसैगरी गोपालबहादुर बलमे दुर्गम जिल्लामा राष्ट्रिय गौरवको आयोजना अलपत्र पारिएकोमा सरकारको ध्यानाकर्षण गराउनु भयो । गौरीशङ्कर चौधरीले केही समयको लागि चीनबाट हुने सबै आवागमन बन्द गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आउँदो मङ्गलबार बस्ने गरी स्थगित भएको छ । शुक्रबारकाे बैठकमा पूर्व सांसद गम्भीरजङ्ग कार्कीको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको हो ।