images
images

तत्काल सरकारमा जाने सम्भावना छैन, हाम्राे माग सम्बाेधन भयाे भने चाहिँ साेच्न सकिन्छ : संयोजक यादव

काठमाण्डाै – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पार्नु भएको छ ।

रिपोटर्स क्लबले आयोजना गरेकाे साक्षात्कारमा (राजपा) सरकारमा जाने चर्चा चलिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जाने बारे पार्टीभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावना नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी हुने बारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन ।

त्यसैले सरकारमा जाने सम्भावना छैन । प्रधानमन्त्रीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन । ‘ संयोजक यादवले तत्काल सरकारमा जाने सोच नभए पनि आफ्ना विगतका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गरेको खण्डमा भने विचार गर्न सकिने प्रस्ट्याउनु भयो ।

यादवले सरकारमा जानु मात्रै आफ्नाे पार्टीकाे मनसाय नभएकाे बताउँदै भन्नुभयाे, ‘सरकारले हाम्रा विगतका मुद्दा र हाम्राे मागलाई उचित सम्बाेधन नगर्ने हाे भने हामी सरकारमा किन जाने ?’ साथै उहाँले मधेश–थारुहट आन्दाेलनका क्रममा पक्राउ परेका आफ्ना नेतामाथि लागेका मुद्दा फिर्ता गर्न र घाइतेकाे उपचारमा सरकारले सघाउनु पर्ने बताउनु भयाे ।

साथै उहाँले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले छिट्टै एकता हुने विश्वास पनि व्यक्त गर्नुभयाे ।