काठमाण्डौ – भारतको उत्तर प्रदेश राज्यको फर्रुखाबाद जिल्लाको मोहम्मदाबादमा २३ जना बालबालिकालाई अपहरण गर्ने सुभाष बाथमको प्रहरीसँगको सङ्घर्षमा ज्यान गएको छ । बन्धक बनाइएका सबै बालबालिका सुरक्षित रहेको अधिकारीहरुले जनाएका छन् ।
कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालले अपहरणकर्ता सुभाषको प्रहरीसँगको सङ्घर्षमा ज्यान गएको र सबै बालबालिकाको उद्धार गरिएको सञ्चारमाध्यमलाई जनाए । अग्रवालका अनुसार सुभाषले अपहरण गरिएका बच्चा छोड्नका लागि एक करोड भारु माग गरेका थिए र आफूमाथि लागेको हत्या आरोप पनि फिर्ता लिन माग गरेका थिए ।
बिहीबार राति सुभाषले अपहरणमा परेकामध्ये एक जनालाई रिहा गरिदिएका थिए । बन्धक बनाइएका बालबालिकालाई मुक्त गर्न एटीएसका विशेष सुरक्षा बल बोलाइएको थियो र प्रहरी अधिकारीहरु पनि घटनास्थलमा तैनाथ थिए ।
मोहम्मदाबादको करसिया गाउँमा बालबालिकालाई बन्धक बनाइएको घर सुभाष बाथमकै थियो । प्रहरीका अनुसार अपहरणकर्ता सुभाष निकै चलाख प्रकृतिको व्यक्ति थिए र उनी पटक पटक जेल गैसकेका छन् ।
स्थानीयका अनुसार बिहीबार दिउँसो आफ्नो छोरीको जन्मदिनको बहानामा सुभाषले गाउँका बालबालिकालाई बोलाएको थियो । सबै बालबालिका दिउँसो झण्डै ३ बजेतिर सुभाषको घर पुगेका थिए र त्यसपछि सुभाषले घरको मुख्य ढोका भित्रबाट बन्द गरेका थिए ।
साँझ साढे ४ बजेको समयमा एक महिला आफ्नो बच्चा लिन जाँदा अपहरणमा परेको थाहा पाइन् र प्रहरीलाई सूचना दिइन् । फर्रुखाबाद प्रहरी प्रमुख डा. अनिल कुमार मिश्रले निकै सावधानीपूर्वक अपरेशन चलाइएको र यो क्रममा केही प्रहरीकर्मी घाइते भएको बताए ।
घटनास्थलमा प्रहरी पुगेपछि सुभाषले फायरिङ्ग सुरु गरेको र केही बम पनि पड्काएका थिए । साथै उनले धम्की पनि दिइरहेका थिए । गाउँका अनुपम दुबे नाम गरेका व्यक्तिले सञ्चारमाध्यसँग भने, ‘सुभाषसँग कुरा गर्न गएको बेला प्रहरीले पनि गोली चलायो, जुन गोली उनको खुट्टामा लाग्यो र पछि उनी मारिए ।’