images
images

अस्ट्रेलियाको राजधानी क्यानबेरामा आपतकाल घाेषणा

काठमाण्डाै – अस्ट्रेलियाकाे राजधानी क्यानबेरामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेको छ । गएकाे सेप्टेम्बरयता फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गएको छ भने हजारौँ घरमा क्षति पुगेकाे छ । यस्तै एक करोड ११ लाख हेक्टर क्षेत्रफलकाे जमिन डढिसकेको छ ।

अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् । आगलागीबाट मुख्य प्रभावित दक्षिणी क्षेत्रमा मात्र १८ हजार पाँच सयभन्दा बढी हेक्टर जमिन सखाप भैसकेको छ । अग्नि नियन्त्रकहरु ४० डिग्रीको तापक्रममा तीव्र गतिको हावाको वेगमा आगो निभाउन जुटिरहेका छन् ।

आगोलाई नियन्त्रणमा लिन कठिन भैरहेको अग्नि नियन्त्रकहरुले बताएका छन् । आगलागीको जोखिम कम नभएसम्म आपतकाल लागू हुने अधिकारीहरुले बताएका छन् ।