images
images

नेपाल ट्रष्टका सहसचिव ज्ञवालीलाई लेखा समितिका सांसदहरुकाे आग्रह

काठमाण्डाै – सांसदहरुले सार्वजनिक लेखा समितिमा जवाफ दिन आउँदा समितिको मर्यादा राख्न नेपाल ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीलाई सचेत गराएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा जवाफ दिने क्रममा सांसदहरुले मर्यादित बनेर जवाफ दिन सचेत गराएका हुन् ।

नेपाल ट्रष्टका सहसचिव ज्ञवालीले ट्रष्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उच्च अदालत लगायत समितिमा समेत जवाफ दिन उपस्थित भएको बताउँदै कसले हेरेको कुरा सही मान्ने भन्ने प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्लिन चिट दिएको अवस्था हो र हामीले अर्को अहिले अदालतमा चाहिं उच्च अदालतमा मुद्दा दिन लाएको अवस्था हो । अब अहिले यहाँ पनि जवाफ दिइरहेको अवस्था हो ।

हामी पटक पटक जहाँ बोलाए पनि जवाफ दिइरहेका छौँ कसले हेरेको चिजलाई सही मान्ने कुरामा एउटा प्रश्न पनि म यहाँ राख्न चाहन्छु । ’यससँगै समिति सभापति भरतकुमार शाहले अन्य संस्थाहरुले के भने थाहा नभएको तर समितिको मर्यादा राखेर आउन सचेत गराउनु भयो । उहाँले भन्नुभयो, ‘तपाईलाई खर्चसम्बन्धी ऐनले के व्यवस्था गरेको छ भन्ने कुरा थाहा हुनुपर्ने हो ।

महालेखाले ल्याएको बेरुजुको उपर लेखा समितिले छलफल गरी संसदमा पेस गरे त्यो अन्तिम हुनेछ । त्यसको उपर सर्वोच्च अदालत बाहेक अरुले काटन सक्दैन ।लेखा समितिमा आउँदा पढेलेखेर आउनुहोला । ’समिति सभापति शाहले ऐन नै पढेर सुनाउँदै समितिमा आउँदा बुझेर आउन सहसचिव ज्ञवालीलाई सचेत गराउनुभयो ।

सांसद डा. मिनेन्द्र रिजालले समितिमा अन्तिम भाषण दिन्छु भनेर नसोच्न आग्रह गर्नुभयो । उहाँले समितिमा बोलेका हरेक प्रस्तुतिको महत्व हुने बताउँदै समितिको मर्यादा राखेर उत्तर दिन आग्रह गर्नुभयो । सांसद रिजालले भन्नुभयो, ‘गोकर्ण रिसोर्टका लागि २०१९ मा २०२५ मा समाप्त हुने लिज अवधि सम्झौता गर्नुपर्‍यो कुन आधार छ मैले अहिले बुझ्न सकेको छैन ।’

उहाँले गणतन्त्र ल्याएर पूर्व राजाको सम्पत्ति सिमति व्यक्तिले फाइदा लिन प्रयोग भएको र यस विषयमा समितिले छानविन गर्नुपर्ने बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले ६ वर्ष अघि नै सम्झैता गर्नुले गलत मनसाय मार्फत निर्णय भएको बताउनुभयो । उहाँले यस्तो निर्णय गर्ने अधिकार नेपाल ट्रष्टलाई नभएको समेत बताउनुभयो ।

सांसद तेजुलाल चौधरीले नेपाल ट्रष्टको जग्गा मूल्याङ्कन अनुसार नभई टेबुलमुनिबाट काम भएको भन्दै छानविन गर्नुपर्ने बताउनुभयो । बैठकमा प्रधनमन्त्री कार्यालयका सचिव नारायण प्रसाद विडारीले समितिमा उठेका जिज्ञासा तथा प्रश्नहरुको पष्ट जवाफ नआएको स्वीकार गर्दै आफुलाई थप अध्ययन गरेर आउन दिन आग्रह गर्नुभयो ।

बैठकमा दरबारमार्ग,गोकर्ण, पोखरा र चितवनमा रहेका नेपाल ट्रष्टका जग्गा भाडामा दिएको सम्बन्धमा छलफल भएको हो । छलफलमा सांसदहरुले दरबारमार्गको जग्गाको कम मूल्यांकन भएको, गोकर्ण रिसोर्टको सम्झौता ६ वर्ष अघिनै नविकरण गरिएको भन्दै ट्रष्टका सहसचिवसँग प्रश्न गरेका थिए ।