काठमाण्डौ – चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको छ । योसँगै कोरोना भाइरसबाट एक हजार सात सय नयाँ व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको छ ।
त्यस्तै १२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ । चिकित्सकका अनुसार सङ्क्रमित व्यक्तिमध्ये पाँच जनामध्ये एक जना व्यक्तिमा गम्भीर निमोनियाको लक्षण देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसलाई लिएर उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन स्वास्थ्य कार्यक्रमले कोरोना भाइरसबारे सचेत रहन र यसविरुद्ध लड्न विश्वलाई आव्हान गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनले ‘कोरोनाको सङ्क्रमण र नियन्त्रण’ बारेको बैठकपछि विश्वमै कोरोनाले आपत सिर्जना गर्ने भन्दै थप फैलन नदिइ नियन्त्रण गर्न विश्व जुट्नुपर्ने बताएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्ससँगै विश्वका १६ देशमा पुगिसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एडहेनोमले भने, ‘कोरोना भाइरसलाई विश्व स्वास्थ्य आपतकाल घोषण गर्ने कि नगर्ने भन्ने बारेमा बिहीबार फैसला लिइनेछ । ’महानिर्देशक एडहेनोमले यो समस्या विश्वभरि नै फैलन आशङ्का बढेको छ र यसको समाधानका लागि सबै विश्व नै तयार हुनुपर्ने बताएका छन् । चिनियाँ अधिकारीहरुले अहिलेसम्म सङ्क्रमितमध्ये एक सय २४ जना उपचारपछि पूर्णरुपमा निको भएको बताएका छन् ।


जनता भ्वाइस 







