काठमाडौँ –पूर्वपश्चिम राजमार्ग हुँदै पश्चिम तर्फ आउँदा बुटवलको प्रवेशदारकै सामुन्ने एउटा ठूलो संरचना लामो समयदेखि अलपत्र अवस्थामा छ । त्यो हो लामो इतिहास बोकेको नेपालकै उद्योग –बुटवल धागो कारखाना ।
१२ वर्षदेखि प्रयोग विहिन रहेको बुटवल धागो कारखानाको हालतले मुलुकको औद्योगिक प्रणालीलाई नराम्रोसँग गिज्याएको छ । कारखानाका मेसिनरी सामान, भव्य भवन र १ सय ४४ रोपनी जग्गा अहिले प्रयोगविहिन छ । २०६४ सालमा बन्द भएको कारखाना खोल्न धेरै प्रयास भएपनि सफल भएका छैनन् । अध्याँरो गोदाम जस्तो भवनभित्र करोडौंका मेसीन जिर्ण र बेवारिसे अवस्थामा छन् ।
तर पछिल्लो पटक उद्योग मन्त्रालयले बुटवल धागो कारखानालाई लिजमा चलाउन दिने प्रस्ताव नेपाल सरकार मन्त्रीपरिषदमा पठाएको छ । लिजमा चलाउन दिने प्रस्ताव सहितको फाइल गत असोज महिनामै मन्त्रिपरिषदमा पुगेको हो । तर मन्त्रिपरिषद बैठकबाट धागो कारखानाबारे कुनै निर्णय भएको छैन ।
लिजमा दिँदा धागो कारखाना चल्न पनि सक्ने वा भवन अरु प्रयोजनमा सञ्चालन हुने गरी गरी प्रस्ताव गरिएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए । ‘निजी क्षेत्रलाई दिने भनेकाले कारखाना नै चलाएपनि हुने वा अरु काममा प्रयोग गरेपनि हुने भन्ने छ ।’–उनले भने–‘लिजमा लिनेले सरकारलाई तोकिएको निश्चित रकम बुझाउँछ ।’ मन्त्रिपरिषदको निर्णय आएपछि अरु प्रक्रिया सुरु हुने सिटौलाको भनाइ छ ।
बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले सरकारले अहिलेसम्म गफ मात्र गरेको भन्दै प्रभावकारी निर्णय गरेर धागो कारखानाबारे छिटो टुंगो लगाउनुपर्ने बताए । ‘त्यतिका जग्गा र भवन छ । यहाँ उद्योग गर्न चाहनेले जग्गा पाएका छैनन् ।’–उनले भने –‘एउटा निर्णय गरेर कि चलाए हुन्थ्यो कि सधैको लागि बन्द गरे हुन्थ्यो ।’
सरकारले निर्णय गरेर दिएमा निजी क्षेत्र चलाउन तयार रहेको श्रेष्ठको भनाइ छ । ‘निजी क्षेत्रले उद्योगहरु चलाइरहेका छन् यो नचल्ने भन्ने हुँदैन ।’–उनले भने–‘त्यही मेसिनले हुँदैन । नयाँ टेक्नोलोजीका मेसीन चाहियो । छिटो उत्पादन दिने, कामदार कम लाग्ने खालको हुनुपर्छ ।’
कारखानाका मेसिनहरु वर्षौ पूराना र जीर्ण भइसकेका छन् । मेसीनहरु थपेर कारखाना चल्न सक्ने तर लागत बढी लाग्ने बुटवल धागो कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्मा बताउँछन् । ‘यथास्थितिमा चल्दैन केही पूराना र बाँकी नयाँ मेसिन थपेर चलाउन सकिन्छ ।’ बुटवल धागो कारखानामा ६० प्रतिशत सरकारको लगानी छ ।
८ प्रतिशत सर्वसाधारणको पनि सेयर छ । बाँकी साल्ट ट्रेडिङ, खेतान समूहलगायतको लागत छ । २०३९ सालमा स्थापना भएको बुटवल धागो कारखानाले २०४८ सालबाट व्यवसायिक रुपमा धागो उत्पादन सुरु गरेको थियो ।
घाटामा गएपनि कारखाना संकटमा परेको हो । २०६६ सालमा धागो कारखानाका साढे ४ सय कर्मचारीलाई उनीहरुले पाउने भुक्तानी दिएर बिदा गरिएको थियो । बुटवल धागो कारखाना अवलोकन गर्न थुप्रै उद्योग मन्त्री आए । तर सरकारले के गर्ने भन्ने बारे अझै टुंगो लगाएको छैन ।