images
images

मकवानपुर प्रहरीले गोली प्रहार गरी ३२ किलाे गाँजा बरामद

काठमाडौँ – मकवानपुर प्रहरीले गोली प्रहार गरी मङ्गलबार राति गाँजा तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मुजफ्फरका ३५ वर्षीय कार चालक संजित पासवान, कारमा सवार ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन रहेकाे प्रहरीले जनाएकाे छ ।

हेटौँडा उपमहानगपालिका ११ थानाभर्‍याङमा प्रहरीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बीआर ०६ जे ४४५८ नम्बरको कार जाँच गर्न खोजेको थियो । तर कार नरोकि भैरवडाडातर्फ भाग्न खोजेपछि वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ईश्वरीप्रसाद भण्डारीले पेस्तोलबाट एक राउण्ड गाेली हवाई फायर गर्नुभएकाे थियाे ।

हवाई फायरबाट पनि कार नरोकिएपछि टायरमा एक राउण्ड गोली प्रहार गरेपछि कार रोकिएको थियो । कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाइ १६ वटा पोकामा लुकाइ राखेको ३२ किलो गाँजा बरामद गरिएकाे मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए । त्याे कार मनहरी चेक पोस्ट, नेवारपानी चेक पाेस्ट र लेवट चेक पोस्टमा रोक्न खोज्दा नरोकि भागेको थियो ।

गाँजा तस्करलाई नियन्त्रणमा लिएर ल्याउने क्रममा बसको ठक्करबाट प्रहरी र गाँजा तस्करीमा संलग्न खातुन घाइते भएकी छिन् । उनको चुरेहिल हस्पिटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।