काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीविरूद्ध प्रचार युद्ध छेडिएको बताएका छन्। बुधबार केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक उद्घाटन गर्दै राष्ट्रिय सभामा ओलीले भने, ‘हाम्राविरूद्ध प्रचारयुद्ध अझै भनौं आक्रमण छेडिएको छ।’
उनले त्यो प्रचार आक्रमण के हो भन्ने प्रष्ट खुलाएनन् । प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने पनि उनले बताए । ‘हामी वादविवादबाट होइन, नतिजा र कामबाट जवाफ दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने।
उनले लोकतन्त्रप्रति निष्ठाका सवालमा प्रश्न उठाउने गरिएको पनि उल्लेख गरे। वैचारिक पूर्वाग्रहका कुराभन्दा माथि उठेर हेर्न पनि उनले आग्रह गरेका छन्।