images
images

चितुवाको छालासहित दुई जना पक्राउ

काठमाडौँ – चितुवाको छालासहित प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ । दंगिशरण गाउँपालिका १ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्तिलाई प्रहरीले चितुवाकाे छालासहित साेमबार बेलुकी ५ बजे घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चितुवाको छाला बाेकेर हिँडिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पछ्याउँदै जाने क्रममा दाङ घोराही उपमहानगरपालिका १४ काे नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरुले बोकेको झोला जाँच गर्दा झोलाभित्र प्लास्टिककाे बोरामा लुकाइ राखेको टाउको (बङ्गरा) देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएकाे हाे ।

उनीहरुलाई  नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत, प्रहरी नायब उपरीक्षक (डीएसपी)  सुमित खड्काले जानकारी दिनुभयो ।