images
images

ओली र प्रचण्डबीचको बैठक –उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दाबारे छलफल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको छलफल सकिएको छ । दुवै अध्यक्षबीच आइतबार बिहान ८ बजेदेखि छलफल शुरु भएको थियो । दुई अध्यक्षबीच शान्तिप्रक्रियाको पूर्णता तथा द्वन्द्वकालीन मुद्दा, उपसभामुखको चुनाव, केन्द्रीय कमिटीको बैठक लगायत विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार दुवै नेताबीच माघ १५ गतेदेखि हुने गरी तय भएको केन्द्रीय कमिटी बैठकको विषयमा केन्द्रित रहेर छलफल भएको छ ।यस्तै, उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दा तथा विभिन्न निकायमा पदाधिकारी नियुक्तिका विषयमा पनि अध्यक्षहरुबीच छलफल भएको जनाइएको छ ।

नेकपाले सभामुखको उम्मेदवारका रुपमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद तथा स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाएको छ ।सभामुखमा एकल उम्मेदवारी परेका कारण सापकोटा आइतबारको प्रतिनिधि सभाको बैठकबाट निर्विरोध रुपमा सभामुखमा चयन भएको घोषणा हुने छ ।

संवैधानिक व्यवस्थाअनुसार उपसभामुखमा नेकपाले उम्मेदवार उठाउन मिल्दैन । उपसभामुखका लागि नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले जोड गरिरहेका छन् । आइतबार दुई नेताबीच उपसभामुखमा कुन दललाई समर्थन गर्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।