images
images

न्यायाधीश हरि फुयाँलले अग्नि सापकोटा विरूद्धको रिट नहेर्ने

काठमाडौँ – नेकपाका नेता अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेपनि उनले हेर्न मिल्दैन।

सापकोटा माथि लागेको हत्या आरोपसम्बन्धी विभिन्न रिट अदालतमा विचाराधीन भएकाले पनि उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट फुयाँलको इजलासमा परेको छ । यसअघि सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने उनले अदालतभित्र बताइसकेका छन्।

‘उहाँले यो रिट आफूले हेर्न मिल्दैन भनिसक्नु भएको छ,’ अदालत स्रोतले भन्यो,। आफ्नो स्वार्थ बाझिने मुद्दाहरूमा न्यायाधीशले सुनुवाई गर्न मिल्दैन। सापकोटालाई कारबाही हुनुपर्छ भनेर फुयाँलले पहिलै बहस गरेको र यो रिटमा समेत उही माग भएकाले उनले हेर्न नमिलेको हो । शुक्रबार दायर भएको उक्त रिटमा काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन आदेश दिन माग गरिएको छ ।

न्यायाधीश हरि फुयाँलले अधिवक्ता हुँदाका बखत विचाराधीन ती मुद्दा मध्ये एउटा मुद्दामा बहस गरेका थिए । त्यसैले यो रिटमा उनले बहस गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ। उनले यसअघि नै अग्नि सापकोटाविरुद्धको अर्को रिटमा बहस गरेकाले हेर्न नमिल्ने कतिपय वकिलहरूले तर्क गरेका छन्।

‘विचाराधीन मुद्दामध्ये सुशील प्याकुरेल सहित ८  मानवअधिकारवादीहरूको रिटमा उहाँ वकिल हुनुहुन्थ्यो,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘माग भने यो रिटमा पनि उही छ, सापकोटालाई पक्राउ गर्नुपर्छ भन्ने। हुन त यो अरूले नै हालेको रिट हो। त्यसैले हेर्नु हुन्छ कि हुन्न हेर्न बाँकी रह्यो।’