काठमाण्डौ – चीनमा कोरोना भाइरस फैलिने क्रम तीव्र भइरहेको छ । यही अवस्थालाई लिएर चिनियाँ राष्ट्रपति सी जिनपिङले चेतावनी दिँदै ‘गम्भीर अवस्था’ निम्तिएको बताएका छन् । कोरोना भाईरस तीव्र गतीमा फैलन थालेपछि राष्ट्रपति सी ले चिनियाँ उच्च अधिकारीहरुको विशेष बैठक डाकेर गम्भीर समस्यामा रहेको देशको अहिलेको खतरापूर्ण अवस्थालाई सहजतातर्फ लैजान निर्देशन दिनुभयो ।
चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा सार्वजनिक बिदाकै दिन डाकिएको बैठकमा राष्ट्रपति सी ले सचेत रहन नागरिकलाई पनि आग्रह गर्नु भएको छ । चिनियाँ शहर वुहानमा पहिलो पटक सङ्क्रमण देखिएपछि अहिलेसम्म कम्तीमा ४२ जनाको ज्यान गइसकेको छ भने एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् ।
वैज्ञानिकहरुले चेतावनी दिँदै चीनमा फैलिइरहेको घातक कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न असम्भव हुन सक्ने बताएका छन् । विश्वको सङ्क्रमित रोगका बारेमा अध्ययन गर्ने लण्डनको एमआरसी सेन्टरले भनेको छ, ‘यो भाइरस मानिसबाट मानिसमा सङ्क्रमण हुने हुँदा यसको अवस्थाला कस्तो छ भनेर बुझ्न सकिन्छ ।’ सेन्टरका अनुसार एक जनाबाट कम्तीमा अन्य दुई जनामा यसको सङ्क्रमण फैलिइरहेको छ ।
तर वैज्ञानिकहरुले यो भाइरसबाट बच्नका लागि चीन गरिरहेको प्रयासलाई सहरानीय भनेका छन् । कैयौँ प्रभावित शहरहरुमा यात्रा प्रतिबन्ध लगाइएको छ । आइतबारबाट कोरोना भाइरस फैलिएको वुहान शहरको केन्द्रिय जिल्लाको निजी सवारीसाधनमा पनि प्रतिबन्ध लगाइने भएको छ । यसैबीच चीनले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुका लागि ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउने काम भइरहेको छ ।