हवल्दारसहित सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारततर्फ लागेका हुन् । ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर उनी जोगवनी हुँदै दक्षिण तर्फ लागेका हुन् । उनले नाकाबाट सुरक्षागार्ड नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई फिर्ता पठाएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी दिउँसो करिब १ बजे भारततर्फ लागेका हुन् । रानीबाट दक्षिणतर्फ लागेका सिद्धबाबा कहाँ गए भन्ने केही जानकारी नभएको मोरङका डिएसपी लोकदर्शन थापाले बताए ।
सिद्धबाबाका अनुयायीहरुले भने सिद्धबाबा उपचारका लागि दिल्ली गएको बताएका छन् । विराट नर्सिङहोमबाट रेफरपूर्जी बनाएर उनी थप उपचारका लागि दिल्ली लागेको स्रोतले बताएको छ । रामानन्द आचार्य सेवा पीठका अध्यक्ष गणेश विरहीले पनि सिद्धबाबा दिल्लीतर्फ गएको बताए ।
दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।
जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले मागेको धरौटी वापतको तीन लाख रुपैयाँ बुझाएर पुस १४ गते उनी छुटेपछि मुद्दा उच्चमा पुगेको थियो ।
बलात्कार आरोपमा किटानी जाहेरी दर्ता भएपछि बिरामी भएको भन्दै सिद्धबाबा मंसिर १२ गतेबाट विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका थिए । उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनले अनुसन्धान अवधि भर प्रहरी हिरासतमा बसेनन् ।