प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा हरियो रङको मसीको निर्वाचन चिह्न तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न सेतो कागजमा रातो रङको मसीको निर्वाचन चिह्न तयार गरिएको आयोगले जनाएको छ । सम्पूर्ण मतदातालाई परिचयपत्र लिई मतदानमा सरिक हुन अनुरोध गरिएको छ ।
मतदानपछि आवश्यक व्यवस्था मिलाई मतगणना गर्न र नतिजा सार्वजनिक गर्न पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ । “निर्वाचन जति स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ”, आयोगले स्मरण गराएको छ ।
निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न/गराउने कार्यमा सहयोग पुर्याउन मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारीलगायत सर्वसाधारण नागरिकसँग आयोगले आग्रह गरेको छ ।
५९ सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि उक्त निर्वाचन हुन लागेको हो । एक सदस्य भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक प्रावधान छ ।
कस–कसको पूरा हुँदैछ कार्यकाल
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् ।
उनीहरुमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।


जनता भ्वाइस 







