१० खेलाडीमा सिमित आर्सनलले चेल्सीलाई बराबरीमा रोकेको छ । मंगलबार इङ्लिश प्रिमियर लिग अन्तरगत भएको खेलमा अग्रता जोगाउन नसक्दा चेल्सी आर्सनलसँग २-२को बराबरीमा रोकिएको हो।
खेलको २६ औं मिनेटमा डेविड लुइजले सिधैं रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित हुन पुगेको थियो । १० खेलाडीमा सिमित आर्सनलविरूद्ध चेल्सीले २८ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अग्रता लिएको थियो। सो गोल जोर्गिन्होले गरेका थिए।
पहिलो हाफ १-० को नतिजामा सकिएको खेलमा आर्सनलका लागि गाब्रिएल मार्तिनेलीले ६३ औँ मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि खेलको ८४ औं मिनेटमा चेल्सीका लागि सेसार अज्पिलिक्वेताले गोल गरे र टोलीलाई पुनः अग्रता दिलाए।
तर सो अग्रतालाई खेलको ८७ औं मिनेटमा हेक्टर बेलेरिनले बराबरी गरिदिए र दुबै टोलीले अंक बाँडे । बराबरीपछि जारी लिगमा २४ खेलबाट ४० अंक जोडेको चेल्सी चौथो स्थानमा छ भने आर्सनल ३० अंखसहित १० औं स्थानमा छ।