images
images

अमेरिकामा पनि देखियाे काेरोना भाइरसकाे सङ्क्रमण, अहिलेसम्म ६ जनाको ज्यान गयो

काठमाण्डौ – चीनमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा पनि देखिएको छ । अमेरिकाले सिएटल शहरमा कोरोना भाइरसँग सम्बन्धित पहिलो घटना दर्ता भएको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो विषयलाई गम्भीर मान्दै बुधबार आपतकालीन बैठक बोलाएको छ ।

चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले पनि यो सङ्कटलाई लिएर बयानमा भनेका छन्, ‘वुहान र अन्य ठाउँमा फैलिएको नयाँ कोरोना भाइरस निमोनियालाई गम्भीररुपमा लिनुपर्छ । ’अमेरिकी स्वास्थ्य अधिकारीहरुले मङ्गलबार चीनमा फैलिएको नयाँ भाइरससँग जोडिएको एउटा घटना सार्वजनिक भएको जनाएका थिए ।

सङ्घीय एवं राज्य अधिकारीहरुले पीडितको उमेर ३० देखि ३५ वर्ष भएको जनाइएको छ र उनी चीनको वुहानबाट अमेरिका आएको बताएका छन् । रहस्यमयी भाइरस बताइएको यो नयाँ भाइरस चीनको वुहान, शङ्घाई लगायतका प्रान्तमा तीव्ररुपमा फैलिइरहेको छ । यसबाट अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् भने तीन सयभन्दा बढीमा सङ्क्रमण देखिएको छ ।

यसअघि जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका थिए ।  यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।